
मोरङ । बाल रोग विशेषज्ञ डा. विमल अग्रवालको निधनमा अस्पतालको लापरबाही रहेको आफन्तले आरोप लगाएका छन् । ४१ वर्षीय अग्रवाल ६ बर्षदेखि कोशी अञ्चल अस्पताल विराटनगरमा कार्यरत थिए । मुटुको उपचार क्रममा उनको गत मंगलबार नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

आफैं गाडी चलाएर उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर डा. विमल अग्रवाल जिवित फर्किएनन् । मुटुको एन्जियोग्राफी गर्ने क्रममा मस्तिष्कघात भएपछि जेठ ७ गते राति ११ बजे उनको निधन भएको अस्पतालको भनाइ छ । तर, अग्रवालका परिवार र आफन्तले चिकित्सककै लापरबाहीका कारण उनको निधन भएको भन्दै मेडिकल काउन्सिल र अदालत गुहार्ने बताएका छन् ।
डा. अग्रवाल श्रीमतीलाई साथै लिएर अस्पताल गएका थिए । एन्जियोग्राफी गरेपछि ज्वरो आएको र दुई घण्टा पछि आफै कम हुने भन्दै चिकित्सकले वास्ता नगरी उपचारमा ढिलाई गरेका कारण उनको ज्यान गएको आफन्तको दाबी छ ।
डा. अग्रवालको एन्जियोग्राफी डा. राजेश नेपालले गर्दा न्यूरो फिजिसियन डा. डिल्लीराज काप्mले, न्यूरोसर्जन डा. प्रकाश काप्mले सहभागि थिए । आफैं गाडी चलाएर गएको छोराको मृत्युबारे डा. अग्रवालका पिता ‘न्याय’ पाउनु पर्ने बताउँछन् ।
नोवेल मेडिकल कलेजले भने डा. विमल अग्रवालको मृत्युबारे केही बताउन चाहेन । फौजदारी संहिता २०७४ अनुसार उपचारका क्रममा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा पाँच वर्षसम्म जेल तथा ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।