यातायात व्यवसायीद्धारा मौद्रिक नीतिको स्वागत, साउन ७ गतेपछि गाडी चलाउने

काठमाण्डौं। यातायात व्यवसायीले मौद्रिक नीतिको स्वागत गर्दै साउन ७ गतेपछि यातायात संचालन गर्ने बताएका छन्। मौद्रिक नीतिमा कर्जा तिर्ने समय थप भएसँगै यातायात व्यवसायीले आफ्नो मुख्य माग सम्बोधन भएको भन्दै यस्तो बताएका हुन् ।

सरकारले छोटो दूरीमा यातायात सञ्चालन गर्न दिने निणर्य गरे पनि कर्जा तिर्ने समय नसारेका कारण व्यवसायीले गाडी चलाएका थिएनन्।हिजो राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कोरोनाको महामारी प्रभावित व्यवसायीलाई ६ महिनादेखि १ वर्षसम्म किस्ता तिर्ने समय थप गरेको छ।

बिज्ञापन

राष्ट्रबैंकले मौद्रिक नीति जारी गरे पनि कुन व्यवसाय कति प्रभावित भन्ने कार्यविधि भने बन्न बाँकी नै रहेको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघले मौद्रिक नीति आफूहरुको माग अनुसार आएको जनाएको छ।

यातायात व्यवसायीहरुका करिब ४ महिनादेखि गाडी बन्द भए पनि बैंकले फोन गरी किस्ता तिर्न ताकेता गरेको गुनासो गर्दै आएका थिए। व्यवसायीले किस्ता तिर्ने समय कम्तिमा एक वर्ष सार्नुपर्ने माग सरकार समक्ष राखेका छन्।