
काठमाडौँ । दिउँसो ३ बजे बस्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि नेताहरु आन्तरिक परामर्शमा व्यस्त भएका छन् ।
सचिवालय बैठकअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
त्यसअघि शनिबार बिहान प्रचण्डसहितका ५ जना शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायाणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको थियो ।
खुमलटारको छलफलमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ भने सहभागि भएनन् । त्यस्तै बालुवाटारमा पनि ओलीले रक्षामन्त्री समेत रहेका ईश्वर पोखेल, महासचिव विष्णुु पौडेल, विष्णु रिमाललगायतका नेतासँग छलफल गरेका छन् ।
ओलीले बालुवाटार र प्रचण्डले खुमलटारमा कसरी अघि बढ्ने भन्नेमा परामर्श गरेको दुवै नेताका निकटस्थहरुले बताएका छन् ।
नेकपाले आन्तरिक विवादमा सहमति खोज्ने प्रयासस्वरुप स्थायी कमिटी बैठक रोकेर शनिबार सचिवालय बैठक बेलाएको हो । तर सचिवालय बैठकका एजेण्डा के हुन् भन्नेकुरा अहिलेसम्म कुनैपनि नेताहरुलाई जानकारी गराइएको छैन ।
‘बैठक त हो तर एजेण्डाबारे जानकारी आइसकेको छैन’, प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ । एजेण्डाबारे जानकारी नभएपछि सचिवालय सदस्यहरु नै रनभुल्लमा परेका छन् ।
खासगरी नेकपामा ओलीको राजीनामाको विषय पेचिलो बनिरहेका बेला स्थायी समिति, सचिवालय र केन्द्रीय समिति भन्दै नेताहरुले एउटै विषयमा छलफल गर्न विभिन्न कमिटीका बैठकको प्रस्ताव गरिरहेका छन् । तर कुन कमिटीबाट के निर्णय गर्ने भन्ने अझै प्रस्ट भइसकेको छैन ।