
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई चीनबाट रेल आउने गफ दिइरहँदा चिनियाँ राजदूतले भने पहाड छेडेर रेल ल्याउनु मजाक नभएको बताएकी छन् ।
चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन तर काठमाडौंमा आजभोलि ने रेल आउन लागेजसरी बहस शुरू हुन थालेको छ । केरुङ–काठमाडौं रेलमार्गबारे बृहत् अध्ययन नै शुरू नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ ।
चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्, ‘यस्तो भूगोल छ , चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैंमा जटिल हो । म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित छु ।’
राजदूतका रुपमा जिम्मेवारी लिएर आएपछि यो पहिलोे पत्रकार सम्मेलन हो । उनले भनिन्, ‘रेललाई हल्का रुपमा हेरिएको छ । साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठ्यारो ठाउँमा रेल निर्माण गर्ने प्रसङ्ग अघि बढेको छ ।’
चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण मर्मत सम्भार पूरा भएकाले नाका खुलाउन लागिएको जनाएको छ । ‘ढिलोमा अर्को साता नाका खुलिसक्छ,’ चिनियाँ राजदूत यान्छी भन्छिन्, ‘यो नाका नेपाल र चीनलाई जोड्ने महत्त्वपूर्ण सेतु भएकाले सक्दो छिटो सुचारु गर्न लागिएको हो ।’
नेपाल सरकारले धेरै पटक आग्रह गरेपनि भूकम्पका कारण जोखिम कायमै रहेको भन्दै चीनले नाका खोल्न आनाकानी गर्दै आएको थियो । ‘भूकम्पले नेपालमा जस्तै हाम्रोतिर पनि गम्भीर क्षति पुर्याएकाले यसअघि त्यसलाई चल्तीमा ल्याउने प्रयास सफल हुन सकेको थिएन,’ राजदूत यान्छीले भनिन्, ‘अहिले पनि पूर्णरुपमा जोखिम हटिसकेको त छैन तर अधिकांश क्षतिको पुनर्निर्माण भइसकेकाले जसरी पनि नाका सञ्चालन गर्न हामी तयार भएका हौं ।’
चिनियाँ दूतावासका अनुसार नाका खुलेपनि पहिलेजस्तो मानिस र मालगाडी दुवैको आवतजावत भने हुने छैन । राजदूत यान्छीले बिहीबार बिहान बालुवाटारस्थित दूतावासमा पत्रकार सम्मेलन गरी बेल्ट एन्ड रोड इनिसिएटिभ्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनाएको सहभागिता र त्यस दौरान दुई देशबीच भएको सम्झौताका बारेमा ‘मिडिया ब्रिफ’ गर्ने क्रममा तातोपानी नाका खुल्न लागेको जानकारी गराएकी छन् ।