शिक्षक निकाल्ने बिद्यालयलाई इस्टुले ताला लगाइदिने

झापा: संस्थागत बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको संगठन  (इस्टु) ले गौरादहमा विषेश सकृयता देखाउने भएको छ । प्याब्सन तथा एन प्याब्सनको निर्णय सच्याउन माग गर्दै मुलुकभर सुरु भएको आन्दोलन संगै स्थानीय स्तरमा गतिविधिहरु तीब्र पारिएको हो । इस्टु गौरादह नगर समितिले नगर भित्र रहेका शिक्षक कर्मचारीहरुको समस्यामा केन्द्रित भएर आन्दोलन गर्ने तैयारी गरिएको बताइएको छ ।

गौरादह इस्टुले शिक्षक कर्मचारीहरु निष्कासन गरिएको, तलब लगायतका सुबिधाबाट बन्चित गरिएको बिषयमा संगठन भित्र व्यापक छलफल शुरु गरिएको नगर अध्यक्ष सन्जिब कार्कीले बताए । ‘हामीले प्याब्सन र एन प्याब्सनका क्रियाकलापलाई नजर अन्दाज गरिरहेका छौँ, लामो समय बिद्यालय बन्द भएको परिस्थितिमा आफुलाइ मात्र फाइदा पुग्ने गरि बिद्यालय सञ्चालकले  निर्णय सार्वजनिक गर्दा शिक्षकहरु मारमा परेको परिस्थिति छ’, कार्कीले ओमकार टाइम्स संग भनें ।

बिज्ञापन

 

जथाभावी शिक्षक निस्कासन गर्ने जस्तो अमानवीय कदमको घोर भत्सर्ना गर्दै आन्दोलन अगाडी बढाउने बताए ।  इस्टु प्रदेश अध्यक्ष यादब अधिकारी शिक्षक निस्कासन विरुद्ध आफुहरु गम्भीर भएको र त्यस्ता बिद्यालयमा ताला लगाउनु भन्दा अन्य विकल्प समेत नरहेको बताउँछन् ।

 

गौरादह ३ मा रहेको बिद्यालय हिमालयन फाउन्डेसनले  एकै पटक ७ जना शिक्षक निष्कासन गरेको बिषयमा उजुरी परेको बताउदै अध्यक्ष अधिकारीले  शिक्षक निष्कासनको ज्यादती विरुद्ध   श्रावण ८ गते तालाबन्दी गर्ने तैयारी रहेकोे समेत  बताएका छन् ।

 

कोरोना कहर सगै सामुदायिक बिद्यालय संचालन गर्ने बारे सरकारले नयाँ मोडालिटी सार्वजनिक गरेर बैकल्पिक शिक्षण बिधिको बाटो अवलम्बन गरिरहदा निजि बिद्यालय संचालक भने सानो तिनो झमेला बोकेर हिड्नु गलत भएको इस्टु झापा जिल्ला सह-सचिब पदम गजुरेल बताउछन् ।

 

शिक्षकलाई बेतलबी बिदा दिनु भनेको ऐन कानुनको अज्ञानताको पराकाष्ठा भएको भन्दै निजि बिद्यालय संचालक आफ्नै कारणले सामाजिक प्रतिष्ठा गुमाउदै गएको बताउँछन् । गजुरेल अगाडी भन्छन् ‘बेतलबी बिदा दिनु अमानवीय र कानुन विरुद्धको कदम हो, बिद्यालय संचालकले यस्तो गलत कदम चाल्नै हुदैन थियो, अझै पनि समय छ, तुरुन्तै सच्याइयोस्।’

शिक्षक कर्मचारीका हक हितको लागि देश व्यापी सशक्त आन्दोलन गर्दै आएको इस्टुले गत चैत्र महिना सम्मको तलब नदिने बिद्यालयमा समेत तालाबन्दी गर्ने कार्यक्रम रहेको बताइन्छ ।