
राजविराज- सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।



कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।
यसैबीच नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्।
नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए ।
नदीमा पानी वहावले खतराको सूचक पार गरेपछि सबै ढोका खोलिएको सिहंले बताए । नदीको वहाव ३ लाख क्यूसेक नाघेपछि खतरा मानिन्छ।
सोमबार साँझसम्म गण्डकमा २ लाख ७० हजार क्यूसेक पानी रहेको सम्पर्क अधिकारी सिंहले बताए।
यसैबीच नदीमा पानीको सतह बढेपछि स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।