
प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईँमा जाने कांग्रेसले निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले विघटनविरुद्ध अदालतको ढोका ढकढक्याउने तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘शुक्रबार मध्यरातमा राष्ट्रपतिबाट भएको कदमको विरोध गरिएको छ । यो निर्णयविरुद्ध कानूनी र राजनीतिक लडाईँमा जाने निर्णय गरेका छौँ ।’ उनले सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसले गरेको बताए ।
कानूनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको र थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने उनले बताए । तत्काललाई मध्यावधी चुनाव भन्दा पनि संसद भंगविरुद्धको लडाईँको रणनीति महत्वपूर्ण रहेको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सबेरै प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधी चुनाव घोषणा गरेकी छन् ।