स्वीस सरकारले दियो नेपाललाई थप ४० हजार पीसीआर टेष्ट किट

काठमाडौं । स्वीस सरकारले नेपाललाई ४० हजार(४०,०००) कोरोना परीक्षण पीसीआर टेष्ट किट सहयोग गरेको छ । कोभिड–१९ सम्बन्धी राहत र पुनस्र्थापनाको निरन्तरताका लागि भन्दै स्वीस सरकारको विकास सहयोग परिषद एसडिसीले उक्त परिमाणको पीसीआर किट सहयोग गरेको हो ।

४० हजार किट मध्ये २० हजार किट आजै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित स्वीस दूतावासले हस्तान्तरण गरेको छ । दुई चरणमा गरेर प्रदान गरिने भनिएको उक्त किटको दोस्रो लटको बाँकी २० हजार भने आउँदो अगष्टमा प्रदान गरिने स्वीस दूतावासले जनाएको छ ।

एसडिसीले सहयोग गरेको उक्त पीसीआर किट रोशन डायग्नोष्टिकको हो । कोभिड–१९ सँगै नेपाल सरकारलाई निरन्तर सहयोग गरिरहेको एसडिसीले यसअघि नै ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिसकेको छ ।

यसका साथै कोभिड–१९ को राहत र पुनस्र्थापनाको लागि एसडिसीले प्रदेशको ४ वटा अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टमको स्थापना समेत गर्दैछ । यसअघिको सहयोग कोशी अस्पताल विराटनगरमा भने एउटा वाटर ट्रिटमेन्ट सिस्टमको स्थापना पुरा भइसकेको छ ।

यसको अलबा एसडिसीले १ नम्बर प्रदेशको उदयपुरको आइसोलेसन केन्द्रको निर्माणको अनुमानित खर्च ३ करोड २० लाख को झण्डै ५० प्रतिशतले हुन आउने १ करोड ५० लाखको सहयोग समेत प्रदेश सरकारलाई गरेको छ । कोभिड–१९ को महामारीबीच निरन्तर सहयोग जारी राखेको स्वीस सरकारले महामारीको रोकथाम र नियन्णका लागि मात्र नभई नेपाल सरकार र नेपाली जनाताको सामाजिक र आर्थिक पुनरप्राप्तिको प्रयासहरुलाई निरन्तर सहयोग गर्ने बताएको छ ।