
विराटनगर : मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषध बरामद गरेको छ। मेथान्टामाइन आइस नामक लागुऔषधसहित यसका कारोबारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार कारोबारीका साथबाट ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध बरामद भएको छ।
लागुऔषधसहित पक्राउ परेका पोखरेल उच्च घरनाका नामुद व्यवसायी भएको खुलेको छ। केही उद्योगमा लगानीसमेत गरेका उनले घरजग्गाको पनि कारोबार गर्ने गरेको प्रहरी स्रोतले बतायो।
एसपी पोखरेलले उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको जनाए। यही प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको नेपालको भने यो तेस्रो घटना भएको उनले बताए। प्रहरीका अनुसार यो एक प्रकारको केमिकल ड्रग्स हो। ‘यही प्रकृतिको लागुऔषध बरामद भएको यस अघि नेपालमा दुईवटा घटना थिए,’ एसपी पोखरेलले भने, ‘प्रदेश १ का लागि भने पहिलो र विल्कुलै नयाँ घटना हो।’
विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए। परिचालित टोलीले विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषधसहित कारोबारमा संलग्न पोखरेललाई मंगलबार साँझ पक्राउ गरेको हो।
उनी कसैलाई लागुऔषध पु¥याउन आउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ। उनको साथबाट विराटनगरमा दुई सय ग्राम २२ मिलिग्राम बरामद भएको थियो। अनुसन्धानपछि प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा मारेर थप लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद भएको लागुऔषधको विश्वमै सबैभन्दा बढी माग रहेको छ। मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्स भित्र पर्ने प्रहरीका एक उच्च अधिकारीले बताए। नेपालमा यसको तस्करी एकदमनै कम मात्रामा हुने गरेको प्रहरीको भनाइ छ।
मेथान्टामाइन आइस नामक केमिकल ड्रग्स लागुऔषध हो भन्ने कुरा केहीअघि जापानको एउटा प्रयोगशालाबाट पत्ता लागेको प्रहरी स्रोतले जानकारी दियो। जापानको ल्याबमा पत्ता लागेपछि विभिन्न मुलुुकमा यसको तस्करी सुरु भएको र दुर्व्यसनीले प्रयोग गर्न थालेको बताइएको छ।
यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेको प्रहरीको भनाइ छ। तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ।
पक्राउ परेका पोखरेलले केही समयदेखि यसको कारोबार सुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यही लागुऔषधको कारोबार गर्नका लागि उनले विदेशमासमेत अन्तर्राष्ट्रिय हिसाबको सञ्जाल विस्तार गरेको प्रहरीको भनाइ छ। नेपालमा पनि नेटवर्क बनाएर उनले कारोबार थालेको पाइएको प्रहरीका एक उच्च अधिकारीले बताए।
उनको कनेक्सनका आधारमा लागुऔषधको कारोबारमा संलग्न अन्यको पनि खोजी थालिएको जानकारी प्रहरीले दिएको छ। मोरङ प्रहरीले यस घटनालाई विस्तृतमा पछि सार्वजनिक गरिने जनाएको छ।