
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा काेराेना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने पाँच सयदेखि सात सय कर्मचारीको पीसीआर परीक्षणका लागि बुधबार नमुना सङ्कलन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका झण्डै सात सय जना कर्मचारीको नमुना सङ्कलनको तयारी भएको छ ।



परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आँकलन गर्न सकिने सचिव गुरागाईँले बताउनुभयो ।

काठमाण्डाै उपत्यकामा मङ्गलबार मात्रै ५३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या चार सय ७७ पुगेको छ । अहिलेसम्म काठमाण्डाैमा तीन सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ ।