
प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्बुमा २/२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १/१ पुरुष, उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्बुको दूधकुण्डमा २ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश महेताले जानकारी दिए ।



प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ । प्रदेश १ मा आज ४२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आजसम्म ७८९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ६५२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।