पशुमा नयाँ रोगको संक्रमण देखिएपछी झापाका किसानहरु चिन्तित

झापा: दक्षिण पश्चिम झापाका पशु चौपायामा अनौठो खाले सरुवा रोग देखापरेको छ । झापाको गौरादह, कमल, गौरिगन्ज, शिवसताक्षी लगायतका क्षेत्रमा उक्त रोग देखा परेको हो । यहाँ रहेका गाई, बाच्छा, बाच्छी र गोरु मा अत्याधिक मात्रामा यो रोग देखा परेको छ भने, भैंसी र राँगामा केही कम समस्या देखिएको पाइएको छ ।

 

बिज्ञापन

कस्ता छन् लक्षण?

 

विषेशगरी गाइमा देखापरेको लम्पी स्किन डिजिज नामक भाइरसको प्रारम्भिक लक्षणमा शरिरमा फोका भएर घाउ हुने, शरिरमा डलर पैसा आकारको डाबर आउने, गाईवस्तुलाई ज्वरो आउने, शरिरका विभिन्न ठाउँमा पानि जमेर सुन्निने जस्ता रोगका लक्षणहरु देखापर्ने गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले ओमकार टाइम्सलाई बताइन् । अन्य पशु चौपाया मध्ये गाइमा उक्त रोग देखापरेको छ, हाम्रो पशु स्वास्थ्य शाखाको प्राबिधिककै गाइलाई समेत रोग देखा परेको पाइएको छ, अन्य पशुचौपायामा पनि उक्त नयाँ भाइरसको असर देखापर्न सक्ने भएकोले किसानहरुलाई सचेत रहन आग्रह गरेका छौँ ।’ , अध्यक्ष काफ्लेले बताइन् ।

 

अन्य लक्षणहरुमा आँखा बाट कचेरा निस्कने, सिंगान बग्ने तथा फिंज धेरै निकाल्ने, शरीरका विभिन्न ठाउँमा विशेष गरी घाँटी, पछाडीको भाग, पेट र थुन वरिपरि गिर्खाहरु १० देखि ५० मिलिमिटरसम्मको देखिने, अत्यधिक मात्रामा ज्वरो आउने , गर्भ तुहिन सक्ने र पछि महिनौं सम्म बाँझोपना देखिन सक्ने नेपाल पाराभेटनरी एण्ड लाइभ स्टक एसोसिएसनका केन्द्रिय सदस्य मातृका भट्टराई बताउछन् । २० प्रतिशत जति गाईहरु बिरामी पर्ने र १ देखि ५ प्रतिशत सम्म गाईहरु मर्नसक्ने सम्भावना रहेको पशुचिकित्सक भट्टराईको भनाइ रहेकोे छ ।

 

यसको कुनै ठोस उपचार तथा रोकथाम नभएको र यसको खोप नेपालमा हालसम्म उपलब्ध नभएकोले लक्षण अनुसार घाउको उपचार गर्न सकिने गौरादह पशु सेवा शाखा प्रमुख सन्तोष भण्डारीको भनाइ छ । प्रारम्भिक लक्षण देखिएको ले तत्काल रोकथाम गर्न नसके यो रोग भयावह समस्याका रूपमा देखापर्न सक्ने भण्डारी बताउछन् । ‘यो नयाँ प्रकारको सरुवा रोग हो, यसले कोरोना महामारी जस्तै रुप लिन पनि सक्छ, हामी संग भ्याक्सिन र औषधीको पनि अभाव छ’, भण्डारीले बताएका छन् ।

 

लम्पी रोग सर्ने मूख्य कारण भनेको लामखुट्टे, झिङ्गा, किर्ना आदिको टोकाईको माध्यमबाट, संक्रमित गाईभैंसीको आवतजावतबाट र संक्रमित पशु र स्वस्थ पशुलाई उपचारको क्रममा एउटै सुइ प्रयोग गर्दा गाई, भैंसीहरुमा यो रोग सर्न सक्छ ।

 

कहाँ बाट आयो महामारी ?

 

लम्पी स्किन डिजिज नामक घातक सरुवा रोग सर्वप्रथम अफ्रिकन मुलुकमा देखापरेको प्राविधिकहरु बताउछन् । नेपालमा भने पहिलोपटक यो रोग देखा परेको पाइएको छ ।

 

अधिकांश किसानहरुले गाई, बाच्छाको जीउभरि डाबर आएको, खानपिन छोडेको, ज्वरो आउने जस्ता समस्याहरु लिएर किसानहरु पशु स्वास्थ्यकर्मी कहाँ आउने गरेको बताइएको छ ।

 

कसरी गर्ने उपचार ?

 

उपचार तथा रोकथामका लागि खोप नेपालमा अहिलेसम्म उपलब्ध नभएकाले पशु चिकित्सकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्ने, लामखुट्टे, झिङ्गा, किर्ना आदिको बाट जोगाउनु पर्ने, गोठ वरिपरिको वातावरण सफा राख्नु पर्ने वा रोगले आक्रमण गरिसकेको पशु चौपायालाई अलग्गै राख्नुपर्ने पशुबिज्ञहरु बताउँछन् ।