चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु २७ गते नेपाल आउने

काठमाडौं । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु ४  दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन्।

लीको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन्।

बिज्ञापन

परराष्ट्रकाअनुसार भदौ २७ गते सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ। सोही दिन सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्।

नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ ३० गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

भदौ ३० गते नै लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन्।