
विराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलिने क्रम बढ्दै गएको छ । सोमबार प्रदेश १ सरकारका एक उच्च अधिकारी र उहाँको परिवारसहित विराटनगरका १८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारको कानून सम्बन्धी सहयोगका लागि नियुक्त पदाधिकारीमा कोरोना पुष्टि भएको हो । विराटनगर ५ घर भएका उहाँको श्रीमती र छोरामा पनि संक्रमण भएको छ ।



कोरोना संक्रमण पुष्टि भएपनि उहाँले परिचय नखुलाउन आग्रह गर्नुभएको छ । सरकारको उच्च ओहोदाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनुले विराटनगरमा समुदाय तहमा कोरोना व्यापक भइसकेको भन्दै सरोकारवालाहरुले धेरैभन्दा धेरै पिसिआर परीक्षण गर्न आग्रह गरिरहेका छन्

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा प्रदेश प्रहरी कार्यालयका ७ प्रहरी कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरी ४१,४२,३७,२५,३५ २४ र ३३ वर्षका छन् ।
यसैगरी विराटनगर महानगरपालिका ७ का ४ जना र विराटनगर ६ का १ जना कोरोना पाइएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । विराटनगर ७ की ३० र ३६ वर्षीया महिला तथा २५ र ४५ वर्षका पुरुषमा संक्रमण देखिएको छ । यस्तै वडा नम्बर ६ का २४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
कोशी अस्पतालमा कार्यरत थप दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ । योसँगै विराटनगर महानगरपालिकाका १ सय ३८ जनामा संक्रमण भएको छ ।