
काठमाडौं । कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहित बहुमत एक ठाउँमा उभिएपछि अध्यक्ष ओली झस्किएका छन्।
शीर्ष नेताहरुबीच सम्भावित समीकरण र शक्ति सन्तुलनको हिसाव नमिल्दा नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्यूरो घोषणा र केन्द्रीय सदस्यहरुको कार्यविभाजन पर धकेलिएको छ।
पूर्व एमालेबाट ८१ र पूर्व माओवादीबाट ६६ जनासहित १४७ सदस्यीय पोलिट्ब्यूरो सदस्यहरुको नाम तय भए पनि अन्तिम समयमा घोषणा रोकिएको हो। पोलिटब्यूरो सदस्य सूचीमा नपरेका व्यक्तिहरूको दबाबका कारण नेकपाको सचिवालयले यो सूची अनुमोदन गरि घोषणा गर्न नसकेको जनाइएको छ।
अहिले नेताहरुबीचको कार्यविभाजन झन् पेचिलो बनेको छ। कार्यविभाजनमा देखिएको विवादका कारण ९ सदस्यीय सचिवालयको शक्ति सन्तुलनमै फेरबदल हुने सम्भावना देखिएपछि तीन पटक बैठक स्थगित भैसकेको छ।
कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहित बहुमत एक ठाउँमा उभिएपछि अध्यक्ष ओली झस्किएका छन्।
नेकपाका एक जना सचिवालय सदस्यका अनुसार छ जनाको यो समूहले कम्युनिस्ट पार्टीमा शक्तिशाली रुपमा लिइने संगठन विभाग प्रमुखमा वामदेव गौतमको नाम प्रस्ताव गरेको छ। बहुमत सचिवालय सदस्यहरूबाट यस्तो प्रस्ताव आएपछि झस्केका अध्यक्ष ओलीले प्रचण्डलाई अप्ठेरोमा पार्न पूर्वमाओवादी पक्षका सचिवालय सदस्य रामबादुर थापा (बादल) लाई संगठन विभाग प्रमुखमा प्रस्ताव गरेका छन्।
‘प्रचण्डलाई गाह्रो पार्न र बहुमत (छ जना) को एकता भाँड्न सकिन्छ भन्ने ठानेर ओलीले गौतमको विकल्पमा बादललाई अघि सारेका हुन्’, ती सचिवालय सदस्यले भने।
बादल अहिले गृहमन्त्री छन् भने गौतमको कुनै जिम्मेवारी छैन। पार्टी बरियतामा गौतम अघि रहेको र यसअघि एमालेमा पनि संगठन विभाग प्रमुख भएर काम गरिसकेको भन्दै संक्रमणकालीन अवस्थामा संगठन व्यवस्थित गर्न पूर्णकालीन नेता चाहिने भएकाले गौतमको नाम अघि सारिएको तर्क यो पक्षले अगाडि सारेको छ।
गौतमलाई संगठन विभाग प्रमुखमा प्रस्ताव गर्ने सचिवालय सदस्यमध्येका एक जनाले भने, ‘क्षमता र आवश्यकता हेरेर वामदेव गौतमलाई संगठन विभागको जिम्मा दिनु न्यायोचित हुन्छ। अहिले संसदमा पनि नभएकाले पूर्ण रुपमा संगठनमै खटेर काम गर्न सक्नुहुन्छ।’
अध्यक्ष ओलीको प्रस्तावले थापा स्वयम् समस्यामा परेका छन्। अध्यक्ष ओलीको प्रस्तावले आफु ओलीसँग निकट हुँदै गएको खुल्ने भएकाले थापाले अप्ठेरो मानेका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिकिएका थापाले ओलीलाई सहज हुने गरी विकल्पमा नयाँ प्रस्ताव राखेका छन्।
थापा निकट स्रोतका अनुसार, कम्युनिस्ट पार्टीको संगठन संरचनाअनुसार महासचिव विष्णु पौडेललाई संगठन विभागको प्रमुख बनाउनुपर्ने धारणा उनले राखेका छन्। ओलीलाई सजिलो बनाउन र दाहाल पक्षको प्रहारबाट पनि बच्न सकिन्छ भन्ने हिसावले थापाले यस्तो प्रस्ताव अगाडि सारेको सचिवालय सदस्यहरूको बुझाई छ।
संगठन विभाग प्रमुख बन्न सचिवालय सदस्य ईश्वर पोखरेलले पनि लबिङ गरिरहेका छन्। तर अध्यक्ष ओली सकारात्मक नदेखिएपछि पोखरेलले पार्टी स्कुल विभाग आफुले पाउनु पर्ने दाबी गर्न थालेका छन्।
अध्यक्ष ओली, महासचिव विष्णु पौडेलसहित बसेर तयार पारिएको ४८ पृष्ठ लामो कार्यविभाजनसम्बन्धी प्रस्तावमा बरिष्ठ नेता माधव नेपाललाई विदेश विभाग, नारायणकाजी श्रेष्ठलाई प्रचार, रामबहादुर थापालाई संगठन, महासचिव पौडेललाई आर्थिक, नेता गौतमलाई कृषि विभागको प्रस्ताव गरिएको छ। नेताहरुबीच कुरा नमिलेपछि नेकपाको सचिवालय बैठक जेठ १८ गतेसम्मका लागि सरेको छ।