
पर्साको पोखरीया नगरपालिकाका प्रमुख दिपनरायण रौनियारसहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका ४ जना वडाध्यक्षहरुमा संक्रमण पुष्टि भएपछि २५ साउनमा कन्ट्याक्ट ट्रेसिङको आधारमा ३४ जनाको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणमा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
काभ्रेको धुलिखेल अस्पतालस्थित प्रयोगशालाका गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले जानकारी दिइन् ।
उनका अनुसार पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादव, दुई जना डाक्टर र २ जना नर्समा समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरिया नगरपालिका–४ का अध्यक्ष लक्ष्मण साह कानु र एक जना पत्रकार समेत संक्रमित भएका छन् । ज्वरो र खोकी लागेपछि मेयर रौनियारले परिवारका सबै सदस्यको समेत पीसीआर परीक्षणका लागि स्वाब नमुना दिएका थिए ।
पीसीआर रिपोर्टमा उनका आमा, बुवा, दाई, भाइ र बहिनीमा समेत संक्रमण पुष्टि भएको उपप्रमुख खातुनले जानकारी दिइन् ।
यसअघि नै पोखरिया नगरपालिकामा ४ वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइ आइसोलेसनमा छन् । उनीहरु सबैको अवस्था समान्य रहेको बताइएको छ ।
संक्रमित मेयर र वडाध्यक्षहरुसँगै बैठकमा सहभागी भएको र सम्पर्कमा आएका व्यक्तिहरुको आज स्वाब संकलन भइरहेको उपप्रमुख खातुनको भनाइ छ ।
मेडिकल सुपरिटेन्डेन्टसहित ५ जनामा संक्रमण पुष्टि भएपछि पोखरीया अस्पताल सिल गरिएको छ भने नगरपालिकाका कामकाज समेत प्रभावित भएको छ । मेयरका स्वकीय सचिव र चालकमा समेत संक्रमण पुष्टि भएको छ ।