गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

खरा : गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यही असार १ गते भित्र बजेट ल्याइसक्नु पर्ने कानुनी ब्यवस्था भएपनि अन्तिम समयमा आएर नयाँ सरकार गठन भएकोले हतारमा सरकारले नीति तथा कार्यक्रम सहित बजेटको तयारी गरेको हो ।

नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे मुख्यमन्त्री पोखरेलले आइतबार निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेका थिए । पृथ्वी सुब्बाको सल्लाह अनुसार नै आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । यसअघि गुरुङ नेतृत्वको सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो ।

बिज्ञापन

 

मुख्यमन्त्री पोखरेलले आइतबार समय छोटो भएकाले नीति कार्यक्रम र बजेटलाई फास्ट ट्रयाकबाट कसरी अगाडि बढाउन सकिन्छ भनी गुरुङसँग सल्लाह गरेका थिए । आज नीति तथा कार्यक्रम पास गरेर, असार १ गते बजेट ल्याउने गरी सरकार अघि बढेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।

 

सरकारले सहभागी सबै दलहरूको घोषणापत्रलाई समेटेर विगतको सरकारले गरेका कामलाई निरन्तरता दिने गरी बजेट निर्माणको कार्य अगाडी बढाएको छ । यसअघि बजेट र नीति तथा कार्यक्रमका बारेमा गुरुङ सरकारले आवस्यक तयारी गरिसकेकाले त्यसमा केही हेरफेर गरेर प्रस्तुत गर्न लागिएको हो ।