
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि सुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सीपीएल सुरु हुन लागेको हो ।

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्ने छन् । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ ।



सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुसी लागेको बताए ।

उनी सीपीएल खेल्न गत १५ साउनमा ट्रिनिडाड एन्ड टोबागो गएका थिए । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका हुन् ।
यो संस्करणमा सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि २पटक सिपिएल खेलिसकेका छन् । सीपीएल २५ भदौसम्म चल्ने छ ।
सीपीएलमा जमैकासँगै बार्बेडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जोक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सीपीलमा कूल ३३ खेल हुने छन् ।
कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।