नेपाली झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा : नेपाली झण्डाको अपमान गर्नेलाई कारबाही माग

काठमाडौं । नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु यहाँ उल्लेख गर्न लायक पनि छैनन् । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ ।

बिज्ञापन

र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

भिडियोको थम्नलेलमा देशद्रोही शरणार्थी बाहुन क्षेत्रीको हिन्दू झण्डा भन्दै जलाएपछि भन्ने शब्द राखिएको छ । जहाँ नेपालको झण्डा र पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताको तस्विर पनि जलाइएको छ ।

देशद्रोही शीर्षक राखिएको सो भिडियोको तल गायकको परिचय दिएको छ । मंगोलियन -याप नाम दिइएको सो गीतका रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम, भाषा खस र राष्ट्रियता नेपाली लेखिएको छ । गीतमा ९ सय जनाले लाइक गरेका छन् भने ४४ हजारले डिस्लाइक गरेका छन् ।

भिडियो बजारमा आएसँगै यस्तो कार्य गर्नेलाई कारवाही गरिनुपर्ने माग सामाजिक सञ्जालमा चर्को रुपमा उठेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भिडियोमा राष्ट्रिय झण्डा जलाउने व्यक्तिको खोजीकार्य भइरहेको बताए ।

एसएसपी थापाका अनुसार गीतको भिडियो बनाउने मुख्य व्यक्ति हेटौंडामा छन् । ती व्यक्तिको समेत मकवानपुर प्रहरीको समन्वयमा खोजीकार्य भइरहेको थापाले बताए । यस्तै भिडियो खिच्ने फोटोग्राफरको लगभग पहिचान भइसकेको थापाले बताए ।

सामाजिक सदभाव खल्बलाउने कार्य गरिएकोप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको संगठनका महासभिव जनक फडेराले बताए ।

देशको राष्ट्रिय झण्डाको अपमान गर्नेलाई कारवाहीको माग चर्किरहँदा यस्तो कसूर गर्नेलाई के–कस्तो सजाय हुन सक्छ भन्ने विषयमा पनि धेरैको चासो बढेको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले समेत कारबाहीको माग गरेका छन् ।

राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा जलाउँदै गरेको दृश्य देखाइपछि त्यसको चौतर्फी विरोध हुनुका साथै नेपाली झण्डाको अपमान गर्नेलाई सामाजिक सञ्जालमार्फत कारबाही माग भईरहेको छ । राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई अब ३ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

ऐनको १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षतिसम्बन्धी शीर्षकमा भनिएको छ, ‘कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।’