महोत्तरीमा सर्पको बिगबिगी,  एकै महिनामा १ सय २० जनाको उपचार

सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्न थालेसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ ।

बर्खामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो ।

बिज्ञापन

पछिल्लो साउन महिनामा मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना देखिएका हुन् । विषालु सर्पले डसेर मध्य साउनयता महोत्तरीमा २ जनाको मृत्यु भएको छ ।

अहिले बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको भीड छ । पछिल्लो साउनभरिमा नै ४० सर्पदंश घटनाका बिरामी उपचारबाट निको भएर घर फर्केका छन् ।

पछिल्लोपटक जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मात्रै आठजना उपचारपछि निको भएर घर फर्केका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए ।

भङ्गाहा–५ मा गत शुक्रबार एकैदिन १६ जनालाई सर्पले डसेको भए पनि अन्य आठजना सिरहाको बन्दीपुरमा नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा गएका भङ्गाहा–५ का वडाध्यक्ष शिव महतोले बताए ।

भङ्गाहा–५ कै दुईजनाको भने उपचार केन्द्र नपुग्दै साउन १५ यता मृत्यु भएको छ ।

असार अन्तिम साता र साउन मध्यसम्मको पटकपटकको मुसलधार वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो ।

साउन महिनामा ४० जना सर्पदंशका बिरामी उपचार गर्न आएकामध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १२ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए ।

अन्य भने भाइबर (सर्पको एक प्रजाति), बिच्छी र खजुराले टोकेका पुष्टि भएको देवकोटाको भनाइ छ । यस अवधिमा सर्पदंशको शङ्काले जचाउन आउने नै १२० जना पुगेका केन्द्रले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिकाका वडानम्बर १, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएका त्यहाँको आम जनबोलीमा पाइन्छ ।

त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ ।

सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दत्र्ता भएकाभन्दा निकै बढी घटना हुने गरेका देवकोटाले बताए ।

केन्द्रले सेवा सञ्चालन भएयता हालसम्म १ हजार ४ सय ३८ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ ।

तीमध्ये आर्थिक वर्ष २०७६/०७७ मा १ सय ६०, आव २०७५/०७६ मा ३ सय १९, आव २०७४/०७५ मा २ सय ९६, आव २०७३/०७४ मा २ सय ७३, आव २०७२\०७३ मा २ सय ७० र आव २०७१÷०७२ मा १ सय ६५ जना रहेको केन्द्रले जनाएको छ ।