
सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कोशी राजमार्गमा इटहरीबाट धरानतर्फ आउँदै गरेको को ८ प ९३०२ नम्बरको मोटरसाइकलले पैदल हिँडेकी महिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय धरान, सुनसरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।



मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धालाई तत्कालै उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको डीएसपी बस्नेतले बताए ।

प्रहरीले मृतक वृद्धाको पहिचान नखुलेको हुँदा कोही कसैलाई जानकारी भए खबर गरिदिन अनुरोध समेत गरेको छ । अन्दाजी ७०÷७५ वर्षकी उमेर देखिने ती वृद्धाको अनुहार हेर्दा क्षत्री, ब्राम्हण देखिने प्रहरीले जनाएको छ । ती वृद्धाले रातो लुङी र रातो चोली लगाएकी छिन् ।
मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय राम पौडेललाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।