प्रहरी जवानलाई कुटपिट गर्ने ९ जना विरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– ललितपुरको पुल्चोकमा बिहिबार दिउँसो ट्राफिक प्रहरीका जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिटको अभियोगमा पक्राउ परेका ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहीबार पक्राउ परेका ९ जनालाई हिरासतमा लिई विभिन्न मुद्दामा अनुसन्धान थालिएको हो।

बिज्ञापन

पक्राउ परेकाहरूलाई परिसरले शुक्रबार ललितपुर जिल्ला अदालतमा म्याद थपका लागि लैजाने परिसरले जनाएको छ ।

घटनापछि ललितपुर परिसरले बेलुका सिसिटिभी भिडिओसमेत अनुसन्धान गरी ९ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ललितपुर–१६ गावाहलका महेश बज्राचार्य, ललितपुर–११ का पृथबिन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवि शाक्य, १६ का रविन शाक्य, महालक्ष्मी नगरपालिका–१ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी–८ का श्याम श्रेष्ठ र काठमाडौं–१६ का यादवलाल कायस्थ छन्। अन्य केहीलाई प्रहरीले पक्राउ सूचीमा राखेको छ।

संक्रामक रोग ऐन २०२०, कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान भइरहेको छ।