कानुन पालना नगरेपछि विशेष अदालतको अख्तियारलाई पत्र

काठमाडौं : मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ जारी भएको तीन वर्ष भइसक्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले त्यसको पालना गरेको पाइएन ।

मुद्दा दायर गर्दा अभियोगपत्रसँगै आरोपीको नागरिकता र फोटोसमेत संलग्न गर्नुपर्ने उक्त संहितामा उल्लेख भए पनि यी निकायहरुले त्यसको पालना नगरेका हुन् । संहिता पालना नगरेपछि विशेष अदालतले यी निकायलाई अब अभियोगपत्र ल्याउँदा अनिवार्य रुपमा तस्बिर र नागरिकताको प्रतिलिपी पेश गर्न पत्राचार गरेको छ ।

‘कतिपय अवस्थामा मुद्दाको म्याद तामेलीमा समस्या हुने गर्छ, फैसला कार्यान्वयनमा समेत समस्या हुन्छ’, विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले भने–‘संहितामा उल्लेख भएको कुरा पालना नभएको पाइएपछि कार्यान्वयनका लागि ती निकायलाई पत्र लेखिएको छ ।’ विशेष अदालतले अख्तियार र सम्पत्ति शुद्धिकरण विभागलाई पत्र लेखी अभियुक्तको फोटोसहित नागरिकताको प्रतिलिपीसमेत पठाउन भनेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ (१)(घ)ले अदालतमा अभियोगपत्र पेश गर्दा प्रतिवादी वा अभियुक्तको फोटो पनि साथै राखी पेश गर्नुपर्ने भनेको छ । कानुनमै भएकाले त्यसको कार्यान्वयन गर्न भनिएको हो। अहिलेसम्म अख्तियार वा विभाग कसैले पनि अभियुक्तको फोटो अभियोगपत्रका साथ पेश गर्दैनथे। अब भने अनिवार्य पेश गर्न भनिएको छ ।

अभियोगपत्रमा अभियुक्तको तस्बिरसँगै नागरिकता नम्बर, नागरिकता जारी गरेको जिल्ला र नागरिकता जारी गरेको मिति समेत उल्लेख गर्न पनि विशेषले पठाएको पत्रमा उल्लेख छ।