चाडपर्वको मुखमा भारतले रोक्यो प्याजको निर्यात, नेपाली बजारमा प्याजको मूल्य दोब्बर

काठमाडौं- चाडपर्वको मुखमा भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ ।

भारतले निर्यात रोकेपछि बजारमा अभाव हुने आशंकाले व्यापारीले प्याज लुकाउने तथा उपभोक्ताले अनावश्यक सञ्चित गर्न थालेपछि प्याजको मूल्य आकासिएको हो ।

एक साताअघि प्रतिकेजी ४० रुपैयाँ रहेको प्याजको मूल्य बढेर अहिले एक सय रुपैयाँसम्म पुगेको छ । बजारमा अहिले प्याजको अभावसमेत हुन थालेको पाइएको छ ।

भारतले प्याज निर्यात रोकेको भन्सार विभागले जानकारी दिएको छ ।

भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरू बताउँछन् । भारतबाट प्याज आउन छोडेपछि मूल्य बढ्न गएको व्यवसायीले जानकारी दिएका छ ।

यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । उत्पादन कम भएपछि भारतले प्याज निर्यातमा रोक्ने गर्छ ।