रौतहट हत्याकाण्ड: आलमका सहयोगी १३ वर्षपछि पक्राउ

रौतहट हत्याकाण्डका फरार आरोपी पक्राउ परेका छन् । हत्याकाण्डको १३ वर्षपछि बाराको सिम्रौनगढ नगरपालिका- ४ बस्ने मोती सहनीका छोरा ५५ वर्षीय बद्री सहनी पक्राउ परेका हुन् ।

उनलाई प्रदेश- २ प्रहरी कार्यालयको विशेष टोलीले यही शुक्रबार नेपाल भारत सीमा पर्ने रौतहटको बौधीमाई ७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको हो ।

बिज्ञापन

२८ चैत २०६४ मा हुने संविधानसभा चुनावलाई लक्षित गरी रौतहटको साबिकको राजपुर फरहदाव गाविस ४ हाल राजपुर नगरपालिका ४ स्थित शेख इद्रिशको गोठमा बम बनाउने क्रममा बिस्फोट हुँदा स्थानीय नारायणसिंह राजपुतका छोरा त्रलोकप्रताप सिंह राजपुतसहित करिब १६ जना घाइत हुनुका साथै ३ जनाको मृत्यु भएको थियो ।

उक्त घटनापछि मृतक तथा घाइतेलाई ट्याक्टरमा लोड गरी नजिकैको इँट्टाभट्टामा लगि जलाइएको थियो । सोही घटनामा फरार रहेका सहनीलाई शुक्रबार पक्राउ गरेको हो । सहनी सोही इँट्टाभट्टाका हेडमिस्त्री रहेको बताइएको छ ।

सहनीले कांग्रेस नेता मोहम्मद आफ्ताव आलमकै निर्देशनबमोजिम घाइते तथा मृतकलाई आगोमा हालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । सोही मुद्दामा नेता आलम हाल थुनामा छन् । सोही घटनामा अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।