
काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वामित्वमा सञ्चालन भइरहेको एक उद्योगले नियमअनुसार व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको उजुरी परेको छ ।
वाणिज्य राज्यमन्त्रीले सञ्चालन गरेको दुगड स्पाइस एण्ड फुड्स प्रालि, टंकीसिनवारी मोरङले खाद्य अनुज्ञालगायतको अनुमति नलिइ व्यवसाय सञ्चालन गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको हो ।
सेञ्चुरी साल्टका नाममा उद्योग राज्यमन्त्री सञ्चालक रहेको दुगड स्पाइस एण्ड फुड्स प्रालिले नूनमा कालोबजारी गरेको मञ्चको उजुरी छ ।
व्यवसाय सञ्चालन गर्न कुनै पनि स्वीकृति नलिइ नूनको प्याकेजिङ गर्दै प्रति सय ग्राम ३२ रुपैंयाँमा बेची कालोबजारी गरेको भन्दै मञ्चले कारबाहीका लागि उजुरी गरेको जानकारी दिएको छ ।