
दमक । गौरादह नगरपालिकाले सडक बत्ती ठेक्का प्रकियामा ठूलो आर्थिक अनियमितता गरेको पाइएको छ ।अस्वभाविक रुपमा बजार मूल्य भन्दा धेरै महङ्गो मूल्य राखेर स्टमेट तयार पारि ठेक्का दिएर आर्थिक अनियमितता गरेको रहस्य खुलेको छ ।
गौरादह नगरपालिका भित्र २५० वटा सडक बत्ती जोड्न २७ लाख ९९ हजार ३ सय ९५ रुपैया ७२ पैसाको स्टमेट तयार पारिएको छ ।यस स्टमेट अनुसार प्रति सडक बत्ती जडान गर्न १० हजार ७ सय ६६ रुपैया भन्दा बढी पर्न आउँछ जुन अस्वभाविक महङ्गो मूल्य भएको जानकारहरु बताउछन् ।नगरपालिकाले कुनै सामाग्री खरिद गर्नु पर्दा जिल्लाले निर्धारण गरेको दररेटलाई आधार मानेर खरिद गर्नुपर्ने भएता पनि झापा जिल्लाको दररेटमा ५० वाटको बल्ब नै उल्लेख भएको देखिदैन ।जिल्लाको दररेटमा उल्लेख नभएको बस्तु खरिद गरिनु आफैमा शंकास्पद देखिन्छ ।
बजारमा ३५०० रुपैया खुद्रा मुल्यमा पाउने ५० वाटको सडक बत्तीको सेट ५००० रुपैयामा स्टमेट गरिएको छ ।जस अनुसार २६० वटा सडक बत्ती खरिद गर्न १३ लाख रुपैया छुट्टाईएको छ ।खुद्रा ब्यापारीसंग पनि समन्वय गरेर ९ लाख १० हजारमा हुने कामलाई १३ लाख खर्च गरिनुले स्थानीय निकायमा हुने भ्रष्टाचारको स्वरुपलाई देखाउछ ।अझ हास्यास्पद कुरा त के छ भने सामान्य रुपमा डेढ दुई सय रुपैयामा पाउने स्वीच र जडान शुल्क गरेर १९ सय १ रुपैया ८२ पैसा प्रति गोटाका दरले २६० वटाको ४ लाख ९४ हजार ४ सय ७४ रुपैया २१ पैसा छुट्टाईएको छ ।
यसै सन्दर्भमा गौरादहका मेयर रोहित कुमार साहसंग जिज्ञासा राख्दा ` त्यो स्टमेट हामीले बनाएको हैन , बिद्धुत प्राधिकरण गौरादह शाखाले बनाएको हो सोही अनुरुप हामीले ठेक्का प्रक्रिया अगाडि बढाएका हौ ।´ गौरादह नगरपालिकाका तात्कालिक कार्यकारी अधिकृत खेम ओझाको भनाइ पनि मेयरको भनाइसंग मेल खान्छ ` त्यो स्टमेट हामीले बनाएको हैन बिद्धुत प्राधिकरणले बनाएको हो हाम्रो केही भुमिका छैन ´ ओझाले ओमकार टाईम्स प्रतिनिधिसंग भने ।
मेयर साह र कार्यकारी अधिकृत ओझाले दोष बिद्धुत प्राधिकरण गौरादहको टाउकोमा थोपर्दै गर्दा बिद्धुत प्राधिकरण गौरादहका प्रमुखको भनाइ फेरि भिन्न देखिन्छ । बिद्धुत प्राधिकरण गौरादह शाखाका प्रमुख सरोज कुमार साहले ओमकार टाईम्स प्रतिनिधिसंग कुरा गर्दै भने ` हामीले दुई चारवटा कम्पनीको दररेट इन्टरनेट मार्फत हेरेर मुल्य निर्धारण गरेका हौ तर मुल्य निर्धारण मेयरको निर्देशनमा गरेका हौ ,उक्त मुल्य मेयर सावले राख्न लगाउनु भएको हो ।´
सामान्यतया बस्तुको बजार मुल्य भन्दा बढीमुल्यमा सामान खरिद गर्नु भ्रष्टाचार हो कानुनतः यो गर्न नपाउने कुरा बताउनु हुन्छ कानुन व्यवसायी तिलक तिम्सिना । उहाँका अनुसार संबंधित निकायले यो ठेक्का प्रक्रियालाई रद्द गरि दोषीलाई कानुनी कार्वाही हुनुपर्ने देखिन्छ ।
कार्यकारी अधिकृत ओझाले बिदाइमा दिए भव्य जाड पाटी
गौरादह नगरपालिकाबाट सरुवा भएका कार्यकारी अधिकृत खेम ओझाले यसै ठेक्का प्रक्रिया सकिए लगत्तै भव्य जाडपाटी दिएको खुल्न आएको छ ।मेयर रोहित कुमार साह लगायत प्राय सम्पूर्ण वडाध्यक्षहरुको उपस्थितिमा गौरादह नगरपालिका वाड नम्बर १ मा रहेको होटल म्यारनमा पाटी दिएको ओमकार सुत्रले जनाएको छ । १ लाख २५ हजार खर्च गरिएको उक्त जाड पाटीमा कोही मातेर रुदै ओझालाई ` सर तपाईं हामीलाई छोडेर जाने हुनुभयो नि ! ´ भन्दै रुदै थिए भने कोही मातेर नाचेका नाचै थिए । राती लगभग १२ बजेसम्म उक्त जाड पाटी चलेको कुरा सुत्रले ओमकार टाईम्सलाई बतायो ।