म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी

गलेश्वर । यस वर्षको वसन्तयाम सुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।