
नेकपाका उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेन । आज २८ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश ज.ब.रा.ले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।
स्रोतका अनुसार यसअघि संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा ‘आइसोलेशन’ मा बसेको कारण देखाउादै गौतमको मुद्दा पेसीबाट हटाइएको थियो । तर, आज उनै खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको छ । यद्यपि गौतमको हेर्दाहेर्दैको मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ । उच्च स्रोतका अनुसार प्रधान न्यायाधीश ज.ब.रा. सरकारी निवास बालुवाटारबाट सर्वोच्च अदालत आएका छैनन । र उनले मुख्य रजिष्ट्रार लगायतसाग सम्पर्क पनि गरेका छैनन ।
राजनीतिक चलखेलले गौतमको मुद्दा संवैधाननिक इजलासको पेसीमा चढ्न नसकेको एक जना वरिष्ठ अधिवक्ता बताउँछन् । भन्छन्, ‘यो मुद्दामा धेरे ठूलो राजनीतिक चलखेल भइरहेको छ । त्यसैले पेसी स्थगित गरेको बुझिएको छ । गौतम पक्षका कानुन व्यवसायी अधिवक्ता सुरेन्द्र थापाका अनुसार पर्सी ३० गते शुक्रबार पनि संवैधानिक इजलास तोकिने सम्भावना छैन । किनभने त्यस दिनबाट कात्र्तिक १५ गतेसम्म अदालत बन्द हुन्छ ।
‘अब दशैंपछि कात्तिक १७ गते वा १९ गते गौतमको मुद्दाको संवैधानिक इजलास तोकिन सक्छ,’ अधिवक्ता थापा भन्छन् ‘त्यसअघि उपाध्यक्ष गौतमको मुद्दा पेसीमा चढ्ने सम्भावना छैन ।’रातोपाटीबाट