कर्मचारीमा कोरोना पुष्टि भएपछि धनकुटा नगरपालिकाको सेवा बन्द

धनकुटा – कर्मचारीमा कोरोना देखिएपछि धनकुटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् ।

नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

बिज्ञापन

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

यो अवधिमा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु भने बन्द नहुने नगर प्रमुख चिन्तन तामाङले बताउनुभयो ।

धनकुटामा संक्रमितको संख्या ६३ जना पुगेको छ । ती मध्ये ४५ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने एक जनाको ज्यान गएको छ ।