
दमक । गौरादह नगरपालीका वार्ड नम्बर २ स्थित आनन्द पाउरोटी उद्योगमा बालश्रम भएको भन्दै लियो क्लब , दमकको अगुवाईमा गौरादह नगरपालिकाको उपस्थितिमा प्रहरीले उक्त उद्योगमा छापा हानेको छ ।

उक्त पाउरोटी उद्योगमा बर्ष ११ का अनिल माझीलाई गैरकानुनी रुपमा काममा लगाई श्रम शोषण गरेको सुचनाका आधारमा जनप्रतिनिधि सहित प्रहरीले छापा मारेको लियो क्लब दमकका अध्यक्ष प्रवेश बास्ताकोटीले बताए ।` हामीले बालश्रम शोषण भएको सुचनाका आधारमा आएका हौ , यहाँको अबस्था हेर्दा पनि त्यस्तै देखिएको छ अब नगरपालिकाको अगुवाईमा बच्चाको अभिभावक राखेर छलफल गर्छौं र त्यसपछि मात्र के गर्ने भन्ने निर्णयमा पुग्छौं ।´अध्यक्ष बास्ताकोटीले ओमकार प्रतिनिधिलाई बताए ।



`बच्चा घरबाट बाहिर ननिस्कनु , बाहिर अरु बच्चासंग खेलवाड नगर्नु , दिनभरि छिमेकीले पनि बच्चालाई नदेख्नु आफैमा शंकास्पद छ हामी छानबिन गर्छौ र यदि दोषी पाहिएमा जो कोहि होस् हामी कारबाहीको माग गर्दछौं ।´ लियो क्लब दमकका सदस्य गंगा प्रसाद खतिवडाले बताए ।

`हामीले बच्चालाई सोधुपुछ गरेका छौ, छिमेकीहरुसंग सोधुपुछ गरेका छौ , अब हामी बच्चाको अभिभावकलाई नगरपालिकामा बोलाउछौ, बास्तबिकता बुझ्छौ अनि त्यसपछि मात्र बच्चाको उज्ज्वल भबिस्य जे गर्दा हुन्छ त्यै गर्छौ ´ गौरादह नगरपालिकाको उप-मेयर गिता भेट्वालले ओमकार प्रतिनिधिसंग कुरा गर्दै भनिन् ।
यता पाउरोटी उद्योग संचालक माझीले आफुले बालश्रम शोषण नगरेको जिकिर गरे ` उ मेरो मामाको छोरा हो , उस्को आमा मरेको र बाउले अर्को बिहे गरेको हुनाले मैले उस्लाई आश्रय दिएको हो मैले श्रम शोषण गरेको छैन ।´ ओमकार टाईम्ससंग कुरा गर्दै माझीले भने ।