
धनगढी – भारतिय नागरिकलाई नेपाली नागरिक दिलाउन सिफरिस गरेको आरोपमा प्रहरीले कैलालीका एक वडाध्यक्षलाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीसहित ३ जनालाई पक्राउ गरेको हो । उनी नेपाली कांग्रेसबाट बिजयी भएका थिए ।

प्रहरीका अनुसार भारतिय नागरिक अलियास अंसारीलाई वंशजको आधारमा नागरिकता दिलाउन वडाध्यक्ष जोशीले २०७५ फागुन २० गते सिफारिस गरेका थिए । यसका लागि उनले सोही वडाका पुनिराम चौधरी भन्ने व्यक्तिलाई अंसारीको नक्कली बुवा बनाएर सिफारिस बनाईदिएका थिए ।



जोशीसँगै प्रहरीले अंसारीको दाजु बनेका खुसीराम चौधरी र भाउजू बनेकी गीता चौधरीलाई पक्राउ गरेको छ भने बुवा बनेका पुनिराम भने फरार छन् । भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तिनैजनामाथी थप अनुसन्धान भइरहेको छ ।
