
काठमाडौं : साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल भत्काइएको छ । चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड विस्तारका लागि गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) भत्काइएको हो ।

तत्कालीन सरकारले २०६७ मसिर ९ गते कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दिएको थियो ।



१३ करोड खर्च भएको कलंकीको पुलले पाँच वर्षमै र साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल पनि ८ वर्षमै सडक विस्तारका लागि भत्काइएको छ ।

करिब २७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ चीनको सहयोगमा आठ लेनमा विस्तार हुँदैछ । कलंकी पुल यसअघि नै भत्काएर यसअघि नै अन्डरपास बनाइसकिएको छ ।
चक्रपथ विस्तारका कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डका अवरोध हटाउन बनेको नयाँ कार्यतालिका अनुरुप यो पुल भत्काइएको सडक विभागले जनाएको छ ।
सरकारले गत असोज २५ गते काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि एक महिनाभित्र घर भत्काउने र प्रसारणलाइनको टावर सार्नेबाहेकका साइट क्लियरेन्सको काम सक्ने गरी कार्यतालिका तय गरेको थियो ।
एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिनाभित्र हाई भोल्टेज टावर सार्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन शुरु गर्ने लगायत निर्णय भएको थियो ।
नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र सबै पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सकाउने र पुस मसान्तभित्र कारखाना चोक र सानोभ¥याङस्थित हाई भोल्टेज टावर सार्ने तालिका बनेको छ ।
यसैगरी स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाइने भएको छ । साथै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर नारायणगोपाल चोकको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कात्तिक मसान्तभित्र सक्ने भएको छ ।
सडक सीमा सम्बन्धी रहेको अन्यौलबारेमा राजपत्र र कानूनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशिघ्र नीतिगत निर्णय गर्नको लागि सडक विभागबाट आवश्यक पहल गर्ने निर्णय पनि भएको छ ।
चीन सरकारको सहयोगमा चक्रपथको दोस्रो खण्ड विस्तार गर्न लागिएको छ । चीनले साइट क्लियर नगरी काम शुरु नगर्ने बताएपछि सरकार साइट क्लियर गर्न जुटेको हो ।