
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ को दार्जिलिङ हाइटमा खेत जोत्ने ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको जनाएको छ । उनी सोही ट्रयाक्टरका चालक हुन् ।
दुर्घटना शनिबार बिहान १० बजेको समयमा भएको हो । दुर्घटनाको खबर लगत्तै सोही क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीहरूले उद्धार गरी गम्भीर घाइते भएका सुवाललाई उपचारका लागि मध्यपुर अस्पताल पुर्याएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
परिसर प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले खेत जोत्ने हाते ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर लैजाँदा गर्दा अनियन्त्रित भई दुर्घटना भएको पाइएको बताए । सोही ट्रयाक्टर पल्टिँदै जाँदा ट्रयाक्टरमा रहेको फालीले सुवालको घाँटी लगायत शरीरको विभिन्न भागमा गम्भीर चोट परेको पाइएको पनि प्रवक्ता गिरीले बताए ।