
झापा :राप्रपाका नेता तथा सांसद राजेन्द्र लिङ्देनले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्द हटाएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्दलाई विशेषणको संज्ञा दिँदै ‘नेपाल अघिकोे विशेषण हटाएकै राम्रो’ भन्दै खुसी व्यक्त गरेका हुन् ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ११ गते नै मन्त्रिपरिषद् बैठकबाट नेपालको नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्दावली हटाएको हालै मात्र खुलेको छ ।
नेपालकाे कम्युनिष्ट सरकारकाे यो कदमको पहिचान र गणतन्त्रवादीहरुले विरोध गर्दै तत्काल सञ्चाउन माग गरिरहेका बेला राप्रपा नेता लिङ्देनले सरकारको निर्णय राम्रो भएको बताएका हुन् ।
उनले नेपालको नाम नेपाल नै रहेको बताउँदै ट्वीटरमा लेखेका छन्, ‘परिवर्तनको उन्मादमा नेपालकाे अघि झुण्याइएको विशेषण यसै भद्दा र अमिल्दो थियो । त्यसमाथि पनि आफू त संघीयता रहित राजा सहितको प्रजातन्त्र चाहने । नेपाल अघिको विशेषण हटाएकै राम्रो ।’
उनले आफूहरु संघीयता समेत नमान्ने भन्दै संघीय व्यवस्था समेत हटाउनुपर्ने उनले व्यक्त गरेका छन् ।
त्यसो त राप्रपाले नेपालमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गर्नुपर्ने मुद्दा उठाउँदै आएको छ । उसले नेपालमा राजा ल्याउनुपर्ने मूल राजनीतिक एजेन्डा बाेकेकाे छ ।