नेपाल–कोरिया मैत्री अस्पतालले आजदेखि आफै अक्सिजन उत्पादन सुरु गर्दै

काठमाडौं : मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालले शुक्रबारदेखि आफैं अक्सिजन उत्पादन सुरु गर्दै छ । ६५ लाख रुपैयाँ खर्च गरेर जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन थालेपछि त्यसको औपचारिक शुभारम्भ गर्न लागिएको हो ।

मध्यमपुरठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले शुक्रबार बिहान ११ बजे अक्सिजन प्लान्टको उदघाटन गर्न लागिएको बताए । कोरोना संक्रमणको महामारीमा बिरामीको चाप बढेसँगै अक्सिजन सिलिण्डरले नधान्ने अवस्था आएपछि एयर बेस अक्सिजन पलान्ट जडान गरिएको श्रेष्ठको भनाइ छ ।

बिज्ञापन

अस्पतालमा अत्याधुनिक प्रविधिको अक्सिजन प्लान्ट जडान गरिएको र यसले पहिलो चरणमा दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन गर्ने उनले बताए । उनले केही प्रविधिहरु जोडेपछि यसबाट दैनिक ९० सिलिण्डरसम्म उत्पादन गर्न सकिने बताए ।

अक्सिजन उत्पादनका लागि प्राविधिक हिसावले सबै तयारी सकिएको बताउँदै श्रेष्ठले कुनै भवितव्य भएन भने आजबाट दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन सुरु हने बताए ।

मेयर श्रेष्ठका अनुसार इमरजेन्सी कक्ष, कोभिड आईसीयु र भेन्टिलेटरमा भएका विरामीसम्म पाइपबाट सीधै अक्सीजन पुर्याउने व्यवस्था मिलाइएको छ ।