सांसद रीना यादवको माग-  हिन्दी भाषालाई प्रदेशको मात्र होइन, देशकै सम्पर्क भाषाको रुपमा राख्नुपर्छ

जनकपुर । प्रदेश- की सांसद रीना यादवले हिन्दी भाषालाई प्रदेशको मात्र होइन, देशकै सम्पर्क भाषाको रुपमा राख्नु पर्ने तर्क गरेकी छिन् । प्रदेशका पचास प्रतिशत महिला भारतीय रहेकोले गर्दा हिन्दी भाषा एक दम ठीक भएको बताइन् ।

शुक्रबार प्रदेश सरकारकाे आर्थिक वर्ष २०७६/०७७ काे नीति तथा कार्यक्रममाथि सदनमा छलफल गर्ने क्रममा बाेल्दै उनले हिन्दीलाई समग्र मुलुककै सम्पर्क भाषा बनाउनुपर्ने माग गरेकी हुन् ।

नेपालमा सरकारले शिक्षण गर्दा हिन्दीलाई अनुमति दिएको जिकिर गर्दै उनले प्रदेशको कामकाजमा सम्पर्क भाषा किन नराख्ने भनी प्रतिप्रश्न गरिन् ?

तर नेकपाका सांसदले भने फरक मत राखेका छन् । भाषाको विषयमा संविधानले प्रस्ट व्यवस्था गरेकोले मैथिली र भोजपुरीलाई प्राथमिकतामा राखेर नेपाली भाषालाई सम्पर्क भाषाको रुपमा नीति तथा कार्यक्रममा समविष्ट गर्न नेकपाका सुन्दर बहादुर बिस्वकर्माले माग गरे । उनले भने, ‘सरकारले प्रदेशमा मातृभाषामा शिक्षा लागू गर्ने कुरा गर्छ तर सम्पर्क भाषा हिन्दी बोल्छ, यो विरोधाभासी र हस्यसपद छ ।’

सरकारको काम राष्ट्रिय भाषालाई संरक्षण गर्ने भएकोले भारतको राष्ट्रिय भाषालाई यहां संपर्क भाषाको मान्यता दिनु तर्क संगत नभएको उनकाे भनाइ थियाे ।

प्रतिपक्षका शिवचन्द्र चौधरीले भाषाको विषयमा हिन्दीभन्दा भोजपुरी र मैथिली नै उपयुक्त हुने बताएका छन् । नेकपाकी नेत्री मन्जू यादवले सम्पर्क भाषाको रुपमा हिंदीलाई नीति कार्यक्रममा राखिनु दु:खद रहेकोले यो विषयमा संशाेधन हुनुपर्ने बताइन् ।