ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियान शुरु

काठमाडौं : ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियान शुरु भएको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज एक कार्यक्रमबीच अभियान शुरु भएको हो ।

कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानमा सहयोग गर्ने वरिष्ठ कलाकारहरु, कलाकार र समाजसेवीहरूलाई सम्मान गर्दै उनले ट्राफिक नियम उलंघन गर्ने कारण पहिचान गरी त्यसको स्थायी समाधान खोज्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा वरिष्ठ कलाकारहरु मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तथा कलाकार दिपाश्री निरौला, कलाकार जितु नेपाल र काठमाडौ महानगरपालिकाका शहरी सुव्यवस्थापन विभागका प्रमुख, हरी बहादुर कुँवरले आ–आफ्ना मन्तव्य राखेका थिए ।

काठमाडौ महानगरपालिकाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउन, नागरिकलाई सचेत गराउन र सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले यो कार्यको सुरुवात गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताएका छन् ।

कार्यक्रममा सामाजिक अभियन्ता एवं समाजसेवी, याङजोङ शेर्पा, राधा पोखरेल, पत्रकार लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम ट्राफिक प्रहरीले ट्राफिक सचेतना सम्बन्धी नृत्यसमेत प्रस्तुत गरेका थिए । ट्राफिक सचेतना अभिवृद्धी गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ ।