
मोरङमा कोरोना भाइरस संक्रमित पाँच जनाको एकै दिन मृत्यु भएको छ। १२ घण्टाभित्र मृत्यु भएकामा चार महिला र एक पुरुष छन्।

चार जनाको उपचारका क्रममा कोभिड अस्पताल र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो। विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मात्रै तीन जनाको मृत्यु भएको छ।



अस्पतालका प्रबन्धक नारायण दाहालकाअनुसार उपचारका क्रममा मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष छन्। झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहान ८ बजेतिर मृत्यु भएको हो। रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको दाहालले बताए।

अस्पताल भर्ना गरेपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ। कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको प्रबन्धक दाहालको भनाइ छ।
त्यस्तै सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८:१० बजेतिर मृत्यु भएको छ। दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ। कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर थप उपचार थालिए पनि महिलालाई बचाउन नसकिएको जानकारी दाहालले दिए।
यसैबीच मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहान ७:३० बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा मृत्यु भएको दाहालले बताए। मृतकमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या रहेको उनको भनाइ छ।
त्यस्तै झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ। अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवकाअनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो।
पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको केही बेरमै महिलाको ज्यान गएको देवले बताए।
मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ।
श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा एक्कासि समस्या आएपनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको राति १० बजेतिर मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ। मृतकको शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।