चिसोमा यसरी बचाउनुहोस् आफ्नो घाँटीलाई

चिसोको समयमा आफ्नो गलाको राम्रो ख्याल राख्नुहोला । किनभने तपाईको आफ्नै सानो लापारवाहीले तपाई ठूलो समस्यामा पर्नसक्नुहुन्छ । विशेष गरेर चिसो मौसममा गलामा खस खस हुने जस्ता समस्या बढी देखिन्छ । बढी खस खस हुँदा टन्सिल हुने वा गलाको संक्रमण समेत हुने खतरा रहन्छ । यस्तै घाँटी खसखसाउने,बोल्न अप्ठ्यारो हुने वा दुख्ने पनि हुन्छन् । यी सबै ब्याक्टेरिया वा भाइरसका कारण हुन्छ । कसै कसैलाई एलर्जी र धुम्रपानका कारण पनि घाँटी खसखसाउने हुन्छन् । धेरैजसो घाँटीको संक्रमण आफैं ठीक हुन्छ तर कहिलेकाहीं भने उपचार पनि गर्नुपर्ने हुन्छ । घाँटी चलाउनु वा खसखसाउनुलाई सामान्य मानेर वेवास्ता गर्दा गम्भीर समस्या समेत देखिन सक्ने चिकित्सकहरु बताउछन् ।

किन हुन्छ गलामा खस खस ?

बिज्ञापन

कुनै कुनै खाना,पेय पदार्थ वा औषधिले हाम्रो शरीरमा नकरात्मक प्रभाव पार्छ । यसको सीधा असर गलामा देखिन्छ । कसै कसैलाई भने वंशानुगत रुपमा पनि घाँटी चिलाउने वा खसखस हुने समस्या देखिनसक्छ । त्यसैले खानपान नबार्दा,मुख र दाँतको राम्रो सफाइ नगर्दा पनि घाँटीमा समस्या देखिने हुन्छ । धेरैजसो घाँटीको समस्या ब्याक्टेरिया र भाइरसको कारण हुने भए पनि कुनै कुनै अवस्थामा फंगल इन्फेक्शन पनि हुनसक्छ । यसलाई ओरल थ्रश भनिन्छ ।

लक्षण :

गलामा इन्फेक्शन भए गलाबाट कर्कश आवाज आएछ । हल्का खोकी लाग्ने,ज्वरो आउने,टाउको दुख्ने र थकाइ लाग्ने हुन्छ । खासगरी केही खानेकुरा निल्न निकै अप्ठ्यारो हुन्छ ।
बच्ने उपाय :

चिसो र गलाको खस खसबाट बच्न कुनै खोप छैन । त्यसैले यसका लागि पूर्व सावधानी अपनाउनु सबैभन्दा बुद्दिमता हुन्छ । जस्तो :

० चिसो चिज खासगरी फ्रिजमा राखिएका चिज सकेसम्म नखाने । आइस्क्रीम, कोल्ड ड्रिंक, कुल्फीलाई विर्सन सके राम्रो ।

० चिसो र फ्रिजमा राखिएका खानाको सट्टा तताएर वा ताजा खाना खानुपर्छ ।

० कफी र गुलियो लस्सी भन्दा पानी वा शुद्ध फलफूलको जुस पिउने

० मनतातो पानीमा मह मिसाएर पिउनाले पनि घाँटीको दुखाइबाट आराम मिल्छ ।

० घाँटीमा अलिकति समस्या महसुस हुने वित्तिकै मनतातो पानीमा नून हालेर घाँटी कुल्ला गर्दा राहत हुन्छ ।

० बढी नै घाँटी दुख्ने वा चिलाउने भएमा तुरन्त डाक्टरको परामर्श लिनुपर्छ ।