सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक गरिने

काठमाडौं : सरकारले भोलि (मंगलबार) नेपालको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ ।

छिमेकी मुलुक चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’ भएको भन्दै परराष्ट्र मन्त्रालयले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको हो ।

परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ ।

विभागका महानिर्देशक प्रकाश जोशीले सोमबार झण्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिएका हुन् ।

उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिए । विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ ।

यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उचाइबारे नेपाल र चीनबीच ऐतिहासिक सहमति भएको बीबीसीलाई बताएकी थिइन् ।

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो ।

उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।

नयाँ उचाइ सार्वजनिक गर्ने मिति संयोजन गर्ने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले शुक्रवार बीबीसीसँग कुरा गर्दै सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्न चीनसँग दोहोरो सञ्चार भइरहेको बताएकी थिइन् ।

सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको हो ।

सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अंग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो ।

विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तर्राष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका छन् ।

नेपाल र चीनको सीमाना छुट्याउने विश्वको अग्लो हिमालको वास्तविक उचाइलाई लिएर काठमाडौं र बेइजिङबीच लामो समयदेखि मतभिन्नता रहँदै आएको थियो ।

चीनले आफ्नो नापी निकाय न्याश्नल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थियो ।

चिनियाँ निकायले सगरमाथाको चट्टानसहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो ।

नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन सम्बन्धी काम गरेको थियो ।

तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका र भूउपग्रहण प्रणाली र रेडार जस्ता उपकरण जडान गरी तथ्याङ्क सङ्कलन गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका थिए ।