
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । राज्यव्यवस्था समितिको आज (बुधबार) बसेको बैठकले एआइजीको दरबन्दी थप गर्ने निर्णय स्थगन गर्न निर्देशन दिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् । बैठकमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापाले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने बताए ।

गृहमन्त्री थापाले मन्त्रालयले पाँच डिआइजीको दरबन्दी थप गर्न सिफारिस गरेको तर मन्त्रिपरिषद्को प्रशासनिक कमिटीले एक एआइजीको दरबन्दी थप गर्न भनेको बताए । गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत जानकारी नगराइ मन्त्रिपरिषद् बैठकले मंसिर ३ गते एआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । उक्त पदमा डिआइजी विश्वराज पोखरेललाई बढुवा गर्न समेत सिफारिस भइसकेको छ ।



मंसिर १५ गते बसेको बढुवा समिति बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको थियो । डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । एआइजीको दरबन्दी थप र बढुवा सिफारिसमा प्रहरीभित्रै व्यापक असन्तुष्टि छ । सो उजुरी राज्य व्यवस्था समितिमा परेको थियो ।
