
दमक/ पाँच लाख दिएर बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेका छन्।

उनीहरुलाई मिलापत्र गरिएको कागजसहित आ–आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। मोरङकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई पाँच लाख रुपैयाँ दिएर मिलापत्र गराउने उनीहरु पक्राउ परेका हुन् । २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका ५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेश कुमार खवासले जबरजस्तीकरणी गरी फरार भएका थिए। सुरेशलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मसिंर १९ गते रंगेली नगरपालिका ७ रंगेली बजारबाट पक्राउ गरेको थियो। थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई नगद दिई मिलापत्र गराएको खुलेपछि मिलापत्र गराउनेलाई पनि प्रहरीले पक्राउ गरेको हो ।



