
काठमाडौं : मन्त्रिपरिषदमासमेत छलफल नगरी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा तनाव बढेको छ ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे क्याबिनेट सदस्य खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्रीले एकलौटी ल्याएको अध्यादेशमा आफूहरुले सहमति जनाउन नसक्ने बताएकी छिन् ।



मन्त्री मगरले सभामुख अग्निप्रसाद सापकोटा र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफल नगरी ल्याइएको विधेयकमा सहमत हुन नसक्ने उनले बताएकी हुन् । मगरले एकलौटी अध्यादेश ल्याएकोमा अब चुप लागेर नबस्ने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छिन् ।

उनले भनिन्,‘राष्ट्रपतिद्वारा जारी भएको अध्यादेशमा हाम्रो सहमति छैन । सम्माननीय सभामुखसँग छलफल नगरी मन्त्रिपरिषद् सदस्यलाई पनि थाहै नदिई ल्याइएको अध्यादेशमा असहमति महामहिम राष्ट्रपतिज्यू ! अब हामी चुप लागेर बस्दैनौं ।’
मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही घण्टाभित्रै जारी गरेपछि देशको राजनीतिमा तरंग छाएको छ ।