
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्रको माग गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले र्याली आयोजना गरेको राप्रपा अध्यक्ष कमल थापाले बताए । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण तथा बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको समेत अध्यक्ष थापाले आरोप लगाएका छन् ।

शुक्रबार ललितपुरको पाटन क्षेत्रमा आयोजित र्यालीमा हजारौंको सहभागिता रहेको राप्रपाले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका छन् । यसैबीच, राप्रपाको केन्दीय सचिवालय कार्य व्यवस्था समिति बैठकले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ ।



बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निमित्त पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपा अध्यक्ष कमल थापाले बताए । आन्दोलनका कार्यक्रम पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने ।

पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने ।
पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने ।
राप्रपाका अनुसार पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सञ्चालन हुने छ ।
दोस्रो चरणको कार्यक्रमको स्वरुप भने राप्रपाले सार्वजनिक गरेको छैन । यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।