
सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि बिहान छलफल भएको छ ।

ओलीसँग छलफल गर्न प्रचण्ड ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घन्टा लामो कुराकानी भएको थियो । १३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच आज छलफल भएको स्रोतले बताएको छ ।



नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले पार्टी र सरकार हाँक्न नसकेको भन्दै राजीनामा मागेका छन्।

दुबै पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग ओलीले अस्वीकार गर्दै आएका छन्। यही विवादको कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच पटक-पटक कुराकानी भएको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले मंसिरमा पार्टी महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। प्रचण्डले भने उक्त प्रस्तावमा आफू सहमत नभएको नेपालपक्ष र आफूनिकट स्थायी समिति सदस्यलाई स्पष्टिकरण दिएका छन्। नेकपा स्थायी समिति बैठक साउन १३ गतेका लागि बोलाइएको छ ।
यसैबीच प्रचण्डसँगको भेटअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बालुवाटारमा कुराकानी गरेका थिए। ओली-देउवा भेटमा भएको कुराकानीबारे खुलाइएको छैन। दुई नेताबीच बिहीबार पनि भेट भएको थियो।