काङ्ग्रेसको निष्कर्ष: पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण

काठमाडौ । नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

 

बिज्ञापन

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।’

 

यसरी पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेतारकार्यकर्ता रहेको उनले बताए । उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए । उनका अनुसार, जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ ।

 

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ गठन र तरुण दल कार्यसमिति विस्तार छिट्टै गर्ने भएको छ । हाल ११औं महाधिवेशनबाट निर्वाचित समितिका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि केही महिनायता नेविसंघ केन्द्रीय समितिविहीन छ भने तरुण दल कार्यकाल सकिनै लाग्दासम्म ४ जना पदाधिकारीमै सीमित छ ।

 

कांग्रेसले पहिलो चरणको जागरण कार्यक्रममा भातृ संस्था परिचालन गर्ने भनिए पनि समिति नहुँदा समस्या परेपछि दोस्रो चरणको अभियानअघि नै भातृ संस्था चुस्तदुरुस्त बनाउने संकेत देखिएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघ गठन र तरुण दललाई यथाशक्य पूर्णता दिने बताएका हुन् ।

 

कांग्रेसले दोस्रो चरणको अभियान बीपी जयन्तिको अवसर पारेर भदौ २४ बाट सुरु गर्ने जनाएको छ । कांग्रेसले दोस्रो चरणको जागरण अभियान अगाडि नै संघीय संरचना अनुसार संगठन वितार गर्ने पनि घोषणा गरेको छ । पहिलो चरणको जागरण अभियान सम्पन्नपछि पहिको पटक पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले यो घोषणा गरेका हुन् ।

‘जागरण अभियानका क्रममा पार्टी भित्रका कमजोरी पहिचान भएका छन् । कमजोरी आत्मसात् गर्दै निराकरण गरिने छ,’ प्रवक्ता शर्माले भने । केन्द्रीय प्रतिनिधिहरुलाई असार १४ गतेभित्र अभियानको लिखित प्रतिवेदन बुझाउन पनि उनले आग्रह गरे ।

 

प्रतिवेदन आएपछि केन्द्रीय कार्यसमितिले ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसँग संयुक्त विमर्श गर्ने छ । सो कार्यक्रममा उनीहरुले जिल्ला जिल्लामा प्राप्त सुझाव जस्ताको त्यस्तै नेतृत्वलाई जानकारी गराउनेछन् /Deshkomedia