
भक्तपुर : भक्तपुरमा बाटो निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको भने अन्य दुई मजदुर घाइते भएका छन् ।

चाँगुनारायण नगरपालिका–५ छालिङको छायाँबस्तीस्थित माथिल्लो मगर चोकबाट वरदानेश्वर महादेव जाने बाटो निर्माण गर्ने क्रममा आइतबार अचानक माथिबाट पहिरो खसेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिशंखुपाखर गाँउपालिका–४ घर भई हाल छायाँबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

त्यस्तै लिशंखुपाखर गाउँपालिका–४ नै घर भई हाल छायाँबस्तीमै बस्ने ४४ वर्षीय प्रेम लामा र रामेछापको सुनापाती गाउँपालिका घर भई हाल छायाँबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङ घाइते भएका छन् ।
पहिरो खसेर घाइते भएका तीनैजनालाई उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । निमा योञ्जनको भने मृत्यु भइसकेको भक्तपुर अस्पतालका चिकित्सकले घोषणा गरेको उनले जानकारी दिए ।
घाइते प्रेम र भुपालसिंहलाई थप उपचारको लागि क्रमशः अर्थोपेडिक अस्पताल नारायणटार काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए । घाइतेमध्ये प्रेम उपचारपछि घर फर्किएका छन् ।