स्वतन्त्र उम्मेदवारको लहर बढ्दो

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारले दलीय प्रतिद्वन्दीसँग मतान्तर फराकिलो पार्दा अरू दस पालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका छन् । धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकामा गोपाल हमाल स्वतन्त्र उम्मेदवारकै रूपमा निर्वाचित हुनुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा मनोजकुमार साहले अग्रतालाई फराकिलो बनाउँदै जानुभएको छ । स्वतन्त्र भएर नै निर्वाचित हुने जनप्रतिनिधिको सङ्ख्या भने करिब चार सय पुगेको छ । ७५३ स्थानीय तहमध्ये ३९ पालिकाको नतिजा आउन बाँकी छ तर दुई उपमहानगर, तीन नगरको प्रमुख र पाँच गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका हुन् । सबैभन्दा बढी कर्णाली प्रदेशबाट स्वतन्त्रबाट दुई-दुई जना प्रमुख-अध्यक्ष निर्वाचित भएका छन् ।

बिज्ञापन

प्रदेश १ बाट तीन, मधेस प्रदेशबाट एक र सुदूरपश्चिमबाट दुई जना स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुखमा निर्वाचित भएका छन् ।निर्वाचन आयोगका अनुसार आइतबार अबेरसम्म ७१४ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । कुल ३५ हजार २२१ पदका लागि एक लाख ४५ हजार ११ जनाले उम्मेदवार स्पर्धा गरेका थिए । जसमध्ये १२ हजार ७८९ जनाले दलीय ब्यानरबाहिर स्वतन्त्र भएर उम्मेदवारी दर्ता गराएका थिए ।

आयोगका अनुसार स्थानीय तहको विभिन्न सात पदका लागि भएको निर्वाचनमा सबैभन्दा बढी स्वतन्त्र भएर निर्वाचित हुने वडाध्यक्ष पदका छन् । वडाध्यक्षमा १२७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । खुला सदस्यमा दोस्रो सबैभन्दा बढी ११५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा ५७ र दलित महिला सदस्यमा ५३ जना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष पदमा भने मात्र दुई जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको उपप्रमुख पदमा समेत दुई जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको प्रमुख पदका लागि एक हजार चार सय स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष पदका लागि भने एक हजार ३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आयोगका अनुसार सबैभन्दा बढी पाँच हजार ९२० जनाले वडाध्यक्ष पदमा स्वतन्त्र भएर उम्मेदवारी दिएका थिए ।