
सिरहा : सिरहाको सुखीपुर नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम फेला परेको छ । झोलामा राखिएको अवस्थामा बम फेला परेको कर्मचारीले बताएका छन् । मंगलबार बिहान सरसफाइ गर्न गएका कर्मचारीले कालो झोलामा प्रेसरकुकर बम राखेको देखेको बताए ।

अहिले सो क्षेत्रलाई सिल गरी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । सिरहा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले बम फेला परेको पुष्टि गरे । बम फेला परेको क्षेत्रलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोजल गर्न लागेको उनले बताए ।



यता जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले उक्त स्थानमा बम राखेको जिम्मेवारी लिएको छ ।

गोइत समूहले मंगलबार प्रेस विज्ञप्ति जारी गरी नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई चरम शोषण, उत्पीडन र अपमानित गरेका कारण चेतावनी स्वरुप बम राखिएको उल्लेख छ ।
सेवाग्राहीलाई हेप्ने, अपमानित गर्ने अहंकारी कर्मचारीमाथि कारबाही गर्न सोमबार रातिनै बम राखिएको विज्ञप्तिमा उल्लेख छ ।